परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज
प्रवेशिका परीक्षाको नतिजा अक्षराङ्क पद्धति अनुसार जिरो(शून्य) देखि ‘ए
प्लस’ सम्म नौ तहमा विभाजन गरेर सार्वजनिक गर्दैछ । परीक्षामा ‘डी’
प्लसभन्दा तलको नतिजा ल्याउने परिक्षार्थीले प्लस टु भर्ना हुन पाउने छैनन्
।
परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले
भने, “अघिल्लो वर्षसम्म एसएलसी नतिजामा कुन डिभिजन आयो भन्ने थाहा हुन्थ्यो
तर यस वर्ष फेल, पास र डिभिजन हुने छैन।”
एसएसली उत्तीर्ण गरेका विद्यार्थीमध्ये
कस्ता विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने भनेर मापदण्ड तय गरिएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद्ले विभिन्न १२ विषयमा आवश्यक गे्रडिङ र ग्रेड
प्वाइन्ट एभरेज(औसत) निर्धारण गर्दै कक्षा ११ मा भर्ना हुन कम्तीमा पनि
अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपालीमा ‘डी प्लस’ आवश्यक पर्ने
बताएको छ ।
विज्ञान विषय अध्ययन गर्न चाहने
विद्यार्थीले विज्ञान र गणितमा ‘सी प्लस’ र अङ्ग्रेजीमा ‘सी’ अनिवार्य
ल्याउनुपर्ने व्यवस्था गरिएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी
दिए । उक्त ग्रेड प्रयोगात्मक र सैद्धान्तिक दुवैमा हुनुपर्ने छ । ‘सी
प्लस’ भन्नाले ५० देखि ६० प्रतिशत अङ्क बराबर हो । सो अनुसार अङ्गे्रजी,
गणित र विज्ञानमा ‘सी प्लस’ ल्याउनैपर्ने हुन्छ । अन्य विषयमा ‘डी प्लस’ भए
हुन्छ । प्राविधिक विषयतर्फ भने १० वटै विषयमा ‘सी प्लस’ ल्याउनुपर्नेछ ।
माध्यमिक विद्यालयको व्यावसायिक धारमा
पढ्न चाहनेले विज्ञान, अङ्ग्रेजी र गणितमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने
व्यवस्था गरिएको छ । व्यवस्थापन सङ्काय पढ्न चाहनेले गणितमा ‘सी’ अनिवार्य
तर पर्यटन, आमसञ्चारमाध्यम र होटल व्यवस्थापन पढ्न चाहनेले अङ्ग्रेजीमा
अनिवार्य ‘सी ग्रेड’ ल्याउनुपर्ने व्यवस्था छ ।
कुनै पनि ऐच्छिक विषय लिएकाहरुले सोही
विषयमा कम्तीमा पनि ‘सी’ ल्याउनैपर्ने व्यवस्था गरिएको छ । ‘‘डी प्लस’
भन्दा माथिका ग्रेड ल्याउने अर्थात् १ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीले
मात्रै कक्षा ११ मा भर्ना हुन पाउने परिषद्ले व्यवस्था गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम
परिषद् (सिटिइभिटी)ले भने ‘सी’ ग्रेडसम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने
निर्णय गरेको छ । सिटिइभिटीले अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा
‘सी’ ग्रेड ल्याउनुपर्ने निर्णय गरेको छ ।
माैका परीक्षा दिन पाउने
परीक्षा नियन्त्रण कार्यालयले मौका
परीक्षाको पनि व्यवस्था गरेको छ । ‘लेटर ग्रेडिङ’ प्रणालीमा नतिजा प्रकाशन
हुने र कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि ‘डी’ र ‘इ’ ग्रेड
ल्याउने विद्यार्थीका लागि साउनमा मौका परीक्षा सञ्चालन गरिने भएको छ ।
मौका परीक्षा दिनैपर्ने अनिवार्य व्यवस्था भने नगरिएको र स्वेच्छिक रुपमा
मौका परीक्षा दिन चाहनेले परीक्षा दिन सक्ने छ ।
Source: www.onlinekhabar.com
Post a Comment