राँगो आतंकले शहीदगेट आसपास सवारी जाम भयो
। एकाएक सवारीसाधनहरु रोकिए । मोटरसाइकल नै छोडेर चालकहरु भाग्न थाले ।
भागाभागमा परेर केही यात्रु लडे र सामान्य घाइते भए । शहीदगेटसम्म आइपुग्दा
राँगोले झण्डै ६ जनालाई हानेर घाइते बनाइसकेको थियो ।
प्रहरीका अनुसार एक महिलालाई राँगोले
हानेर सख्त घाइते बनाएको छ । उनलाई बटुवाहरुले उद्धार गरेर अस्पताल पठाएका
छन् । उनको परिचय खुलेको छैन । अन्य ६ जना मोटरसाइकल चालक राँगोको आक्रमणमा
परे । कसैको खुट्टामा चोट लाग्यो, कसैको भाग्दा खुट्टा मर्कियो । राँगोले
एउटा कारलाई हानेर शीशामा प्वाल पनि पारिदियो ।
महानगरीय प्रहरी परिसर अन्तरगतको जनसेवा
प्रहरी र नगर प्रहरीको टोलीले बल्ल-तल्ल घेरा हालेर राँगो नियन्त्रणमा लिए ।
त्यसका लागि ठूलै मेहनत गर्नु परेको असइ राधेश्याम डिसीले जानकारी दिए
। हेलमेट लगाएका एक व्यक्तिले रातो कपडा देखाउँदै भैंसीलाई समात्न सहयोग
गरेका थिए ।
असइ डिसीकाअनुसार राँगो टेकुतर्फबाट आएको
बुझिएको छ । टेकुमा थुप्रै राँगा काट्ने वधशालाहरु छन् । त्यहाँका काट्न
लाग्दा राँगो भागेको हुनसक्ने डिसीले बताए । राँगोको टाउकोमा एउटा सानो चोट
छ भने सिंङमा रातो अबिर पनि देखिएको छ ।
सुरुमा राँगोलाई समातेर सहिद गेटस्थित
यात्रु प्रतिक्षालयमा बाँधिएको थियो । अहिले राँगोलाई टुँडीखेलमा लगेर
बाँधेर राखिएको छ । नगर प्रहरीले त्यसलाई निगरानीमा राखेका छन् ।
अहिलेसम्म राँगो हराएको भन्दै प्रहरीकोमा
कोही आएको छैन । तर, एकजना पीडित भने आफ्नो बिग्रिएको मोटरसाइकल र खुट्टामा
लागेको चोट लिएर टुँडीखेलमै छन् । उनी क्षतिपूर्तिका लागि राँगो मालिकको
प्रतिक्षामा छन् । धेरै घाइतेहरु वीर अस्पतालमा उपचार गराएर फर्किसकेका छन्
।
यसअघि काट्दाखेरि भागेको भैंसी ह्याम्स
अस्पताल भित्र छिरेर आतंक मच्चाएको थियो जसलाई प्रहरीले गोली हानेर मारेका
थिए ।
Source : www.onlinekhabar.com
Post a Comment