९ असार काठमाडौं । अमेरिकामा जारी कोपा
अमेरिका फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र चिलीबीच
प्रतिस्पर्धा हुने भएको छ । यी दुई टोलीले अघिल्लो संस्करणमा पनि फाइनल
खेलेका थिए जसमा चिली विजयी भएको थियो ।
सिकागोस्थित सोल्जर फिल्डमा आज बिहान
सम्पन्न सेमिफाइनलमा १० खेलाडीमा सीमित कोलम्बियामाथी २-० को जित निकाल्दै
चिलीले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।
खेलको ११ मिनेटभित्रै चिलीले
कोलम्बियामाथी २-० को अग्रता लिएको थियो । चिलीका लागि चार्ल्स अराङगुइज र
जोसे फुएन्जालिदाले क्रमसः ७औं र ११औं मिनेटमा गोल गरेका थिए ।
पहिलो हाफ सकिएपछि खराव मौसमका कारण खेल केहिसमय स्थगित गरिएको थियो । भीषण बर्षासँगै चट्याङ परेपछि खेल स्थगित गरिएको हो ।
मौसममा सुधार आएपछि सुचारु ग्रिएको खेलको
५७औं मिनेटमा कोलम्बियाका कार्लोस सान्चेस दोहोरो पहेँलो कार्ड खादै मैदान
बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा समेटिएको थियो । सुरुवातमै दुई गोलले पछि
परेको कोलम्बियाले त्यसपछि खेलमा पुनरागमन गर्न सकेन ।
सेमिफाइनलमा पराजित भएपछि कोलम्बियाले तेस्रो स्थानको लागि आगामी आइतबानर हुने खेलमा घरेलु टोली अमेरिकाको सामना गर्नेछ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा
अर्जेन्टिनाले घरेलु टोली अमेरिकालाई ४-० ले हराउँदै फाइनलमा स्थान पक्का
गरेको थियो । १४ पटकको उपाधि बिजेता अर्जेन्टिनाले गत संस्करणको फाइनलमा
पनि चिली प्रतिद्धन्दी पाएको थियो भने पेनाल्टी शुटआउटमा पराजित हुँदै
उपाघि जित्न सकेको थिएन । यसपटक अर्जेन्टिनालाई बदला लिने अवसरसमेत आएको छ ।
१४ पटकको उपाधि बिजेता भएपछि
अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।
त्यसयता अर्जेन्टिनाले ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।
पछिल्ला दुई बर्षमा अर्जेन्टिना विश्वकप र कोपा अमेरिकाको फाइनलमा पराजित
भएको थियो ।
अर्जेन्टिना र चिलीले आगामी सोमबार
न्युजर्सीको मेटलाइफ रंगशालामा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दक्षिण अमेरिकाका मुलुकहरुबीच प्रतिस्पर्धा हुने कोपा अमेरिकाको आयोजनाको
१०० बर्ष पुगेको अवसरमा पहिलो पटक प्रतियोगिता अमेरिकामा आयोजना गरिएको हो ।
Source : www.onlinekhabar.com
Post a Comment