बबई (बर्दिया), ७ असार । बर्दिया राष्ट्रिय निकुञ्जका गेम स्काउट राजेश
राम एन्टिना ठड्याउँदै हात्तीमा बसेर रेडियो सेट नियाल्दै हुनुहुन्छ ।
उहाँको दैनिकी गैंडा कहाँ पुग्यो भनेर बर्दियाको बबई उपत्यकामा यसैगरी
घुम्नु हो । ‘उ ल हेर्नुस् ! रेडियो सेटमा गैंडा नजिकै देखियो’ राम हौसिंदै
रेडियो सेटको सङ्केत देखाउनुहुन्छ ।
निकुञ्जका सहायक संरक्षण
अधिकृतको नेतृत्वमा उनीसहित ८ जनाको टोली चितवनबाट ल्याइएका गैंडाको
निगरानीमा छ । नेपाली सेनाका क्याप्टेनको नेतृत्वमा अर्काे अनुगमन टोली
दैनिक निगरानीमा खटिएको छ।
गैंडाको घाँटीमा रेडियो कलर जडान गरिएको छ
। त्यसमार्फत रेडियो सेटमा जानकारी आउँछ । सोही आधारमा नजिक गएर दैनिक
रुपमा फाराम भर्ने र प्रोफाइल तयार गर्ने काममा समेत संरक्षणकर्मीहरु
अहोरात्र खटिने गरेका छन् ।
गैंडालाई छुट्टाछुट्टै आइडी दिइएको छ ।
छुट्टाछुट्टै नामबाट सम्बोधन गरिन्छ । क्रियाकलाप टिपोट गरिन्छ ।
¥याफ्टिंगबाट समेत अनुगमन गरिन्छ भने ३५ सुरक्षा पोष्टमध्ये ८ पोष्ट सोही
क्षेत्रमा रहेको निकुञ्जको भनाइ छ ।
एउटा भालेको नाम ‘दोकान कट्वा
भाले’ राखिएको छ । गुठी इलाकामा रहेकाले अर्काे पोथीको नाम ‘गुठी’, दुवी
आएकालाई ‘दुवी पोथी’, तिखा खाग भएकालाई ‘खाग तिखे भाले’ तथा अर्काे अर्ध
बयस्कलाई ‘बच्चा पोथी’ भनेर नामकरण गरिएको छ ।
बर्दिया राष्ट्रिय
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा भन्नुहुन्छ – ‘कडा निगरानीका
बीच डुल्दैछन् बबई उपत्यकामा चितवनका गैंडा । तिनीहरु खुसी साथ रमाइरहेका
छन् ।’
विश्व वन्यजन्तु कोषलगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा
चितवनबाट पाँच गैंडा स्थानान्तरण भएको थियो । एउटा गैंडाले गएको जेठ ९ गते
बच्चा जन्माएको छ । यसले एकातर्फ हौसला थपिदिऐको छ भने संरक्षणमा थप
प्रभावकारिता अपनाउनुपर्ने अवस्थालाई औँल्याइदिएको छ ।
बबई उपत्यकाको
वीच भएर बबई नदी बग्छ । त्यसको वारि र पारि खुला घाँसे मैदान छ । माथि
चुरे र तल समथल भूभाग छ । चेपाङ पोष्टबाट छिरेपछि विशाल क्षेत्र ओगटेको
फराकिलो र ठूलो ठाउँलाई बबई उपत्यका भनिन्छ ।
यही उपत्यकामा गएको
फागुनको तेस्रो साता चितवनबाट लगेर पाँच वटा गैंडा स्थानान्तरण गरिएको थियो
। चारवटा गैंडामा रेडियो कलर लगाइएको छ । अहिले एउटा बच्चा थपिएको छ ।
नेपाल र भारतमा मात्रै पाइने एक सिङ्गे गैंडा विश्वमै दुर्लभ प्रजातिमा
पर्छ । त्यसैले गैंडाको वंश संरक्षणका लागि बर्दियामा गैंडा स्थानान्तरण
गर्नुपरेको निकुञ्ज विभागको भनाइ छ । कुनै पनि महामारी वा प्राकृतिक
प्रकोपबाट बचाउन पनि गैैंडाको स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको
स्थानान्तरणका बेला नै विभागका महानिर्देशक फडिन्द्रराज खरेलले बताउनुभएको
थियो ।
यसअघि सन् २०१५ को गैंडा अनुगमनमा नेपालमा ६०५ गैंडा रहेको
देखिएकामा बर्दियामा मात्रै २९ गैंडा थिए । स्थानान्तरण र जन्मिएको
बच्चासहित औपचारिक रुपमा यहाँ गैंडाको सङ्ख्या ३५ पुगेको छ ।
‘अहिले
सबै गैंडा हाम्रो मनिटरिङमा छ,’ निकुञ्जको सुरक्षामा रहेको रणशार्दुल गणका
गणपति राजेन्द्र पन्तले भन्नुभयो । उहाँका अनुसार उच्चतम प्रविधि प्रयोग
गरी नेपाली सेना संरक्षणमा खटिएको छ ।
नौ सय ६८ वर्ग किलोमिटर रहेको
बर्दिया राष्ट्रिय निकुञ्ज तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र
हो । गैंडाको बासस्थानका हिसाबले चितवन निकुञ्ज पछिको पहिलो हो । बाघ
संरक्षणका हिसाबले दोस्रो र हात्ती संरक्षणका हिसाबले नेपालकै पहिलो हो ।
गएको
फागुनमा यहाँ चितवनबाट ५ वटा गैंडा स्थानान्तरण गरिएपछि बर्दिया
निकुञ्जलाई संरक्षणमा ठूलो चुनौती थपिएको छ । विसं २०४२ देखि २०५९ को बीचमा
८३ वटा गैंडा स्थानान्तरण भएको थियो । विसं २०६५ मा बर्दियामा गैंडा शून्य
भएको थियो । चोरी शिकारीका कारण सबै गैंडा मारिएपछि स्थानान्तरणका विषयमा
फागुनमा चितवनका संरक्षणकर्मी आन्दोलित पनि भएका थिए ।
विरोधका बीच
चितवनबाट पाँचवटा दुर्लभ एकसिङ्गे गैंडा बर्दिया लगेर छाडिएको थियो ।
अहिलेसम्म बर्दियामा चितवनका गैंडा कडा निगरानीबीच सुरक्षित छन् ।
चितवनका
चराविज्ञ वासु बिंडारी विगतको जस्तै गैंडा मारिने डर भएकाले संरक्षणमा
दवाव दिन आवश्यक भएको बताउनुहुन्छ । नेपालले आफ्नै ज्ञान र सिपबाट सन् १९८६
देखि गैंडा स्थानान्तरण सुरु गरेको थियो ।
चितवनमा गर्भिणी, बर्दियामा सुत्केरी
गैंडा
बर्दियामा छाडिएपछि अरु गैंडाहरुले छोटै समयमा गति लियो तर एउटा पोथी
गैंडा अलि सुस्त देखियो । गर्भिणी गैंडा भएकाले सुस्त भएपछि कडा निगरानी
गरेर टोली खटाइएको बर्दिया निकुञ्जमा प्रमुख रमेश थापा बताउनुहुन्छ ।
स्थानान्तरण
गरेको गैडाले तीन महिनाको अन्तरालमै गएको जेठ ९ गते बच्चा जन्मायो । गुठी
रेन्जपोष्ट नजिकै दक्षिणमा जेठ ९ गते बिहान गैंडाले बच्चा जन्माएको पाइएको
गेमस्काउट राजेशले बताउनुभयो ।
बच्चासहितको गैंडाको उहाँले पहिलो
तस्वीर लिनुभयो । अहिले बच्चासहितको गैंडा सोही इलाकामा बस्छ । ‘आनीबानी
हेर्दा भाले बच्चा जस्तो छ,’ रामले भन्नुभयो – ‘अझै छुट्याउन सकिएको छैन ।’
बच्चा
जन्मिएको रात ठूलो आँधी तूफान आएको थियो । त्यसैले अहिले बोलाउँदा उनीहरु
आँधी तूफान भनेर बोलाउँदै आएका छन् । तर निकुञ्जले गुठीमा जन्मिएकाले गुठी
बच्चा भनेर बोलाउँदै आएपनि औपचारिक रुपमा नामकरण भएको छैन ।
राष्ट्रिय
प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण अधिकृत शैलेन्द्र यादव अहिले
गैंडाको यो माउ बच्चाले बर्दियाकै शान बढाएको बताउनुहुन्छ ।
चितवनमा
डाट गरेर बेहोस पार्न प्राविधिक टोलीलाई हम्मेहम्मे भएपछि जुन गैंडा देखियो
उसैलाई डाट गरेर पठाइएको थियो । डाटका बेला गर्भिणी भन्ने थाहा नभएपनि
डाटपछि थाहा भएको चितवन निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिृकत
नुरेन्द्र अर्याल बताउनुुहुन्छ । नियमित अनुगमन गरेर गैंडाको अध्ययन
भैरहेको छ । सबै गैंडा चितवन निकुञ्जको सुखेभार क्षेत्रबाट पठाइएको हो ।
बासस्थान संरक्षणमा निकुञ्जको ध्यान
गैंडालाई सबैभन्दा बढी मनपर्ने फल जङ्गलमा पाइने भेल्दरको फल हो । त्यसैले अहिले बर्दियामा दुई हजार भेल्दर रोपिएका छन् । गैंडाले मन पराउने त्यसका दाना दुई ट्याक्टर लगेर जङ्गलमा छरिएको छ । अहिले सोही क्षेत्रमा गैंडा रमाइरहेका छन् । तिनीहरुका लागि १२ वटा पानी पोखरी बनाइएको छ ।
गैंडालाई सबैभन्दा बढी मनपर्ने फल जङ्गलमा पाइने भेल्दरको फल हो । त्यसैले अहिले बर्दियामा दुई हजार भेल्दर रोपिएका छन् । गैंडाले मन पराउने त्यसका दाना दुई ट्याक्टर लगेर जङ्गलमा छरिएको छ । अहिले सोही क्षेत्रमा गैंडा रमाइरहेका छन् । तिनीहरुका लागि १२ वटा पानी पोखरी बनाइएको छ ।
बावियाचौरमा
सोलार पम्पबाट पनि पानी तानेर सिमसार बनाइएको छ । विभिन्न क्षेत्रमा घाँसे
मैदान बनाएर बासस्थान संरक्षणमा ध्यान दिएको निकुञ्ज प्रमुख थापा
बताउनुहुन्छ ।
बर्दिया निकुञ्जको ६०० हेक्टरमा घाँसे मैदान
व्यवस्थापन गरिएको छ । यहाँको शिवपुर, ठूलो सिर, सानो सिर, चित्तले, गुठी,
रातमाटे, बाबियाचौर लगायत क्षेत्रमा घाँसैमैदान बनाइएको छ । रासस
Source : www.np.sabkura.com
Post a Comment