ताप्लेजुङ,
१० असार । ताप्लेजुङको पर्यटकीय तथा धार्मिकस्थल पाथिभरा क्षेत्रमा पर्ने
सामुदायिक वनमा अवैधानिक रुपमा बस्ती विस्तार हुने क्रम अझै रोकिएको छैन ।
प्रसिद्ध
तीर्थस्थल पाथिभरा मन्दिर जाने बाटोमा रहेका सामुदायिक वनभित्र दैनिकरुपमा
घरटहरा निर्माण भइरहेका छन् भने घरटहरा निर्माणले वन अतिक्रमण बढेको छ ।
सरकारले तीन वर्षअघि यस क्षेत्रमा निर्माण भएको अवैधानिक घर टहरा हटाउन
जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसमेत दिएको थियो ।सरकारको निर्देशनपछि तत्काल जिल्लास्थित राजनीतिक दल, जिल्ला वन कार्यालय र प्रशासन कार्यलयबीच अर्को व्यवस्था नभएसम्म तत्काल घर नभत्काए पनि थप घरटहरा निर्माण गर्न नपाउने निर्णय भएकामा अहिले दैनिक रातारात घर र होटल निर्माण भइरहेका छन् ।
दिउँसोको समयमा मानिसको आवतजावत हुने र घर निर्माण गरेको देखिए प्रहरी प्रशासनसम्म खबर पुग्ने साथै उजुरी पर्ने डरले रातको समयमा दर्जनौँ कामदार लगाएर एकैरातमा घर निर्माण हुने गरेको स्थानीयवासीले बताएका छन् ।
सामुदायिक वन क्षेत्रमा घर टहरा निर्माण गर्न यस क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिले रोक्नेतर्फ चासो दिनुको सट्टा उनीहरुकै संलग्नतामा घरटहरा निर्माण भइरहेको पाइएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो ।
सामुदायिक वनका अध्यक्षहरुले घर टहरा निर्माणमा आफँै अनुमति दिने र बनेका घर टहराबाट प्रतिपरिवार रु पाँचदेखि १० हजारसम्म रकम उठाउने गरेको समेत पाइएको उहाँले बताउनुभयो ।
अवैधानिक तवरले सामुदायिक वन क्षेत्रमा वनेका घर टहरा तत्काल हटाउन पनि वन कार्यालयलाई निर्देशन दिइएको उहाँको भनाइ छ । रासस
Source : www.np.sabkura.com
Post a Comment