नेकपा एमालेका नेता भरतमोहन अधिकारीले
जसको नाममा सहमति हुन्छ, उसकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव
अघि सारेका छन् । २०७४ माघभित्र तीन वटा चुनाव गरेर संविधान कार्यान्वयन
गर्न राष्ट्रिय सरकार आवश्यक रहेको उनको निष्कर्ष छ ।
पूर्वअर्थमन्त्री समेत रहेका एमाले नेता
अधिकारीले राष्ट्रिय सहमतिको सरकार गठन सहितका एजेण्डामा छलफल गर्न १६
बुँदेमा हस्ताक्षरकर्ता प्रमुख चार दलको बैठक बोलाउन प्रधानमन्त्री केपी
शर्मा ओलीलाई आग्रह गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘चार
दलले १६ बुँदे गरेपछि संविधान जारी भयो । अहिले संविधान कार्यान्वयनका लागि
पनि उनीहरु एक ठाउँमा उभिनुपर्छ ।’
एमाले नेता अधिकारीले भने, ‘संविधान
कार्यान्वयनका लागि राष्ट्रिय सरकार चाहिन्छ । पार्टीहरुको बीचमा जसको
नेतृत्वमा सहमति जुट्छ, उसकै नेतृत्वमा बनाए हुन्छ ।’
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई
सुरुको समय नेतृत्व गर्न दिए उत्तम हुने उनको तर्क छ । उनले अघि भने,
दलहरुबीच सहमति जुट्छ भने कसैले लोभ गर्नु हुँदैन ।’
सरकारले तीन वटै चुनावको मिति प्रस्ताव
गरिसक्यो नि भन्ने प्रश्नमा नेता अधिकारीले सरकारको मनसाय राम्रो भएपनि
सीमांकन नगरी चुनाव गर्न गाह्रो रहेको बताए । यसका लागि दलहरु मिल्नुको
विकल्प नभएको भन्दै उनले भने, कसैलाई मन परेपनि नपरेपनि कांग्रेस र एमाले
एक ठाउँमा उभिनुको विकल्प छैन ।’
उनले अहिले भारतसँगको सम्वन्ध नमिठो रहेको
भन्दै यसबारे पनि साझा धारणा बनाउन चार दललाई सुझाव दिए । उनले अघि भने,
‘भारतसँगको सम्वन्ध कसरी सुधार गर्ने र चीनसँग अहिले भएका सहमति सम्झौता
कसरी संस्थागत गर्ने भन्नेबारे दलहरुको साझा धारणा आयो भने राम्रो हुन्छ ।’
Source: www.onlinekhabar.com
Post a Comment